काठमाडौं, नेकपा एमालेका नेता गोकुल बास्कोटाले यस पटक जनताले राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)लाई पत्याएको बताउँदै तीन महिनासम्म केही नबोल्न नेताहरूलाई सुझाएका छन्।
बुधवार फेसबुकमा स्टाटस राख्दै नेता बास्कोटाले जनताले जिताएको पार्टीले जसरी चलाए पनि उनीहरूकै कुरा रहेको टिप्पणी गरेका हुन्।
‘रास्वपाले चुनाव जित्यो। चलाउँछन् कसरी ? त्यो उनीहरूकै कुरा। नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरूले केही बोल्नु नै बेकार हो,’ बास्कोटाले लेखेका छन्, ‘जनता साझा थिए, छन् र हुने नै छन्।
फरक कति मात्र हो, भने आमजनताको रोजाइमा यसपल्ट उनीहरू परे।’जनताले रास्वपाका वाचा पत्याएको पनि उनले उल्लेख गरेका छन्। ‘अझ यसो भनौँ उनका वाचा जनताले पत्याए। खाँबो चिथोर्न बन्द गरे हुने,’ बास्कोटाले लेखेका छन्।
पछिल्लो समय चुनावको नतिजापछिको अवस्थालाई लिएर एमालेका नेताहरूबिच यस्ता आरोप–प्रत्यारोप र घोचपेच चलिरहेका छन्।