काठमाडौं, सल्यानमा दुई नाबालिका छोरीहरूको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्। बुधवार बिहान बनगाड कुपिण्डे नगरपालिका-११ गलगौलमा दुई नाबालिका दिदीबहिनी घरभित्रै मृत भेटिएका थिए।
२६ वर्षीया पूर्णिमा रानाले आफ्नै साढे दुई वर्षीया छोरी करिश्मा राना र ६ महिनाकी छोरी रागवी रानाको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिए।
पूर्णिमाले बुधवार बिहान ११ बजेतिर श्रीमान टेकमान रानासँग फोनमा झगडा भएको र त्यही रिसमा हत्या गरेको बयान दिएकी छन्। ‘कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो। त्यसपछि मैले रिसको झोकमा उनीहरूको हत्या गरे। उनीहरूलाई पनि मार्ने र आफू पनि मर्ने भन्दै पहिला बच्चालाई मारे। तर, आफू मर्न भने सकिँन’ , उनले बयानमा भनेकी छन्।
श्रीमान घरमा आएपछि आफुलाई कुटपिट गर्ने र छोरीहरु आफ्नो नभएको भनेर पटकपटक धम्की दिने गरेको पूर्णिमाले प्रहरीसँग भनेकी छन्। पूर्णिमाका श्रीमान भने रोजगारीका लागि नुवाकोटमा बस्छन्। प्रहरीले दुवै बालिकाको शव पोस्टमार्टमका लागि सल्यान अस्पतालमा राखेको छ।