राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

HTV Khabar २१ असार २०८१, बिहीबार ०९:१६ मा प्रकाशित

काठमाडौं,  राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। उप्रेतीलाई काठमाडौंको बालाजुबाट सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो।

आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। राम्रोसँग चलिरहेको उनको सहकारी मर्ज भएपछि समस्या आएको थियो। उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषणा गरिएको थियो।

सूर्य थापा सभापति रहेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिलाई दिइएका २० वटा सहकारीको सूचीमा यो पनि रहेको छ। उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो।

उप्रेतीले संसदीय छानबिन समितिले मंगलबार सरोकारवालासँग गरेको छलफलमा समेत सहभागी भएर सहकारी संकट समाधानका उपायबारे सुझाव दिएका थिए। उप्रेती एमालेको केन्द्रीय सहकारी विभागका सचिव हुन।