महेश संस्कृत गुरुकुलका दिग्विजयले हात पारे चौधौँ रिलायन्स देवकोटा स्मृतिको उपाधि

सबिन पन्त 'पृथक' ३१ मंगशिर २०८०, आइतबार ०८:०२ मा प्रकाशित
काठमाडौं, महेश संस्कृत गुरुकुलका दिग्विजय लामिछानेले चौधौँ रिलायन्स देवकोटा स्मृति राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको उपाधि हात पारेका छन्।


रिलायन्स साहित्य समाजले मंसिर ३० शनिवार आयोजना गरेको ११५ औँ लक्ष्मी जयन्तीको अवसरमा आयोजित ‘महाकवि देवकोटाको ‘प्रश्नोत्तर’ कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा तनहुँको देवघाटमा मुठीदानबाट चलाएको गुरुकुलका छात्र दिग्विजय लामिछाने प्रतिस्पर्धामा प्रथम भएका  हुन्।


प्रतिस्पर्धामा टाइमलाइन स्कुलकी आर्या कार्की द्वितीय र रिपुमर्दिनी सैनिक स्कुलका सुतृष्ण पौडेल तृतीय भएका छन् भने संस्कृत मावि रानीपोखरीका विजय तिमल्सिना र कान्तिभैरव गुरुकुलका गणेश पराजुलीले प्रोत्साहन पुरस्कार पाएका छन्।  


प्रतियोगितामा प्रथमलाई नगद पाँच हजार, ट्रफी, प्रमाणपत्र र मेडल, द्वितीयलाई नगद चार हजार, ट्रफी, प्रमाणपत्र र मेडल तथा तृतीयलाई नगद तीन हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। त्यस्तै  प्रोत्साहन स्वरूप दुई जनालाई  १५/१५ सय नगद ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।


यसअघि देशभरबाट २४ विद्यालयका सहभागी  प्रतिस्पर्धीहरूले मंसिर २९ गते शुक्रवार प्रतिस्पर्धामा गरेर उत्कृष्ट छनौटमा परेका ५ जनाले शनिवार प्रतिस्पर्धा गरेका थिए।