जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट फेरि खुल्यो

HTV Khabar २६ भाद्र २०८१, बुधवार ०६:२४ मा प्रकाशित

काठमाडौं, जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट सरकारले फेरि खुलाएको छ। सरकारले भू–उपयोग नियमावली, २०८० संसोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै कित्ताकाट खुलाएको हो।

देशभरका ७५३ पालिकामध्ये १३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ। पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता ६२० पालिकामा कित्ताकाट रोकिएको थियो। सरकारले जग्गा वर्गीकरणका लागि समय थप गर्दै कित्ताकाट खुलाएको हो।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरणका लागि आगामी असार मसान्तसम्मको समय थप गर्दै कित्ताकाट खोल्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताए। ‘जग्गा वर्गीकरणका लागि आगामी असार मसान्तसम्मका लागि समय थपिएको छ,’ उनले भने, ‘अब देशभर कित्ताकाट खुल्यो।’

पालिकाहरूले आगामी असारसम्म जग्गा वर्गीकरण गरेनन् भने फेरि कित्ताकाट रोकिने समेत उनको भनाइ छ। विभागका अनुसार २९५ पालिकाले अहिलेसम्म जग्गा वर्गीकरण नै सुरू गरेका छैनन्। वर्गीकरण नै नगरेका र आंशिक गरेका सबै पालिकामा भदौयता कित्ताकाट रोकिएको थियो।