कारमा शंकास्पद वस्तु भेटिएपछि बजारक्षेत्र 'सिल'

HTV Khabar २० असार २०८१, बुधवार ०७:०३ मा प्रकाशित

काठमाडौं, धादिङको सदरमुकाम धादिङबेशीको बीच बजारमा पार्किङ गरिराखेको कारभित्र शंकास्पद वस्तु फेला परेपछि बजार क्षेत्रमा आवागमन रोकिएको छ।

धादिङको नीलकण्ठ नगरपालिका–३ बीच बजारमा पार्किङ गरिराखेको बा१६च ९१७२ नम्बरको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको गाडीमा अपरिचित व्यक्तिले शंकास्पद वस्तु राखेको प्रहरीले जनाएको छ।

आज दिउँसो ३ बजेतिर उक्त कारभित्र अपरिचित व्यक्तिले सुटकेश राखेर हिँडेको प्रत्यक्षदर्शी हरि श्रेष्ठले जनाएका छन्।

सिसिटिभी फुटेजमा उक्त व्यक्तिले धेरैबेर कार वरपर ओहोरदोहोर गरेर सुटकेश कारमा हालेको देखिएको धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। अहिले नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ।