काठमाडौं, ३१ जना अधिकृतस्तर र ११० जना सहायकस्तरको कर्मचारी दरबन्दी पाएपछि धनगढीको गेटा अस्पतालले उपचार सेवा सुरु गर्ने तयारी थालेको छ।
अस्पतालका निर्देशक डा.प्रमोद जोशीले बढीमा एक महिना भित्र अस्पतालले ओपिडी र इमरजेन्सी सेवा दिने बताए। उनले त्यसको केही समय पछि अप्रेसन सेवा प्रारम्भ गर्ने जानकारी दिए।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबारको मन्त्रिपरिषद बैठकले १७२ जना अधिकृत स्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको थियो। त्यसमा अधिकृतस्तरका ३१ दरबन्दी गेटा अस्पतालका लागि थियो। ११० जना सहायकस्तरका कर्मचारीको दरबन्दी भने मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले उपलव्ध गराईसकेको छ।
सो अस्पतालले १०० शैय्याको सञ्चालन स्विकृति पाएको छ।
‘हामीकहाँ ३१ अधिकृतस्तर सहित कुल १४१ जना कर्मचारीको दरबन्दी आएको छ। यसमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, प्यारामेडिक्स, नर्स, ल्याव टेक्निसियन लगायतका स्वास्थ्यकर्मी तथा प्रशासन तर्फका कर्मचारी हुनु हुनेछ। अब जति सक्यो छिटो त्यो दरबन्दी भरेर काम सुरु गर्ने हो,’ डा जोशीले बताए।
उनले अस्पतालको सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु पाइसकेको समेत बताए । ‘अब सबैभन्दा पहिले दरबन्दी पूर्ति गर्ने कार्य गर्दछौँ । त्यसमा सकेसम्म बढी सरकारी कर्मचारीहरु नै लैजान्छौँ । बाँकी भएका ठाउँमा करारमा जनशक्ति लिन सक्छौँ,’ उनले भने ।
उनले गेटालाई शैक्षिक प्रतिष्ठानको रुपमा पनि विकास गर्न सक्ने गरी पूर्वाधार बनिरहेको भन्दै भवनहरु हस्तान्तरण हुँदै जाँदा सेवाहरु पनि थपिदै जाने बताए ।
‘जुन कुनै अस्पताल सानो आकारमा सुरु भएर बिस्तृत आकार लिने गरेको हामीले देखेकै छौँ, गेटा पनि त्यहि हो । अहिले १०० बेडबाट सुरु हुँदैछ । भविस्यमा यसले ठूलो आकार लिने छ । शैक्षिक प्रतिष्ठानकै रुपमा अघि बढने छ,’ उनले भने ।
सरकारले डा. जोशीलाई गत वर्ष गेटा अस्पतालको निर्देशकको रुपमा नियुक्त गरेको थियो । अहिले त्यहाँ काजमा करीव १२ जना कर्मचारी कार्यरत छन् ।
गेटा अस्पतालका लागि सरकारले चालु आर्थिक बर्षका लागि पूँजीगत तर्फ ८० करोड रुपैयाँ र चालु तर्फ साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।