भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री आरजुको भेट

HTV Khabar ४ भाद्र २०८१, मङ्गलबार ०५:५८ मा प्रकाशित

काठमाडौं,  भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन्। भेटका क्रममा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी समेत भएको थियो।

भेटपछि परराष्ट्रमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु।’भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायत थिए भने नेपालको तर्फबाट दूताबासका अधिकारीहरु थिए।

परराष्ट्रमन्त्री देउवाले सोमवार नै भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। दुई देशका विदेशमन्त्रीको भेटमा द्वीपक्षीय पहल र विकास आयोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहयोग विस्तारबारे कुराकानी भएको थियो। उर्जा क्षेत्रको सहकारी विस्तारबारे समेत भेटमा कुराकानी भएको अधिकारीहरुले बताएका छन्।