१३ वर्षपछि नेपालले अफगानिस्तानलाई हरायो

HTV Khabar २ मंगशिर २०८१, आइतबार १०:३१ मा प्रकाशित

काठमाडौं,  मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो। दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो।

नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो। पछिल्लो पटक सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १-० ले हराएको थियो। दशरथ रंगशालमा भएको त्यस खेलमा भरत खवासले गोल गरेका थिए।

डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक-एक गोल गरे। दुवै गोल‌ दोस्रो हाफमा भएको थियो। जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। रोहितले ७८औं मिनेटमा गोल थपे। रोहितले नेपालका लागि करियरकै पहिलो गोल गरेका हुन्। उनले डेब्यू गरेको १५ वर्षपछि नेपालका लागि गोल गरेका हुन्।

नेपालले पुरुष फुटबलमा एक वर्षपछि पहिलो जित हा तपारेको हो। फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोट अन्तर्गत २०२३ अक्टोबरमा प्रारम्भिक चरणमा लाओस विरुद्ध अवे खेलमा जित हात पारे यता यो नेपालको पहिलो जित हो।

लाओसलाई हराएपछि नेपाल ७ खेलमा जितविहिन थियो। विश्वकप छनोटको दोस्रो चरणमा ६ मध्ये ५ खेलमा पराजित नेपालले एक खेल बराबरी गरेको थियो। यसअघि नेपाल पहिलो मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो। नेपला नोभेम्बरको फिफा विन्डोमा दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान गएको थियो।