चीनले तिब्बतमा विश्वकै ठूलो बाँध बाँध्ने, थ्री गर्जेज भन्दा ३ गुणा बढी बिजुली निकाल्ने

HTV Khabar १२ पौष २०८१, शुक्रबार ०७:३७ मा प्रकाशित

काठमाडौं,  चीनले तिब्बतको यारलुङ साङ्गपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने घोषणा गरेको छ। यहाँ बाँध बाँधेर थ्री गर्जेजबाट भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने चीनको योजना छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीन सरकारले त्यसका लागि १३७ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ। विशेषज्ञहरुका अनुसार यो बाँध पृथ्वीकै सबैभन्दा ठूलो हुने अनुमान छ।

यारलुङ नदीको बाँध निर्माण कहिलेदेखि सुरु हुन्छ र ठ्याक्कै कहाँनेर बन्छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन। तर यो बाँध चीन–भारतको सीमा क्षेत्र नजिकको भूकम्प गइरहने र बढी वर्षा हुने क्षेत्रमा बन्ने अनुमान छ।

चिनियाँ अधिकारीहरुका अनुसार यहाँ बाँध बाँधेर ३०० अर्ब किलोवाट बिजुली उत्पादन गरिने छ। चीनको थ्री गर्जेज बाँधबाट ८८.२ अर्ब किलोवाट (२२ हजार पाँच सय मेगाबाट ) बिजुली उत्पादन हुँदै आएको छ। चीनले बनाउन लागेको नयाँ जलविद्युत आयोजनाको क्षमता ७० हजार मेगाबाट भन्दा धेरै हुने बताइएको छ।

बाँध बनाउन लागिएको यारलुङ साङ्गपो नदी तिब्बतको पठार हुँदै भारत प्रवेश गर्दछ। यो नदी अरुणाचल प्रदेश र आसाम हुँदै बंगलादेश पुग्छ। भारतमा यो नदीलाई ब्रह्मपुत्र र बंगलादेशमा पद्मा नदीको रुपमा चिनिन्छ।त्यसैले चीनले यारलुङ नदीमा बनाउने बाँधबाट भारतको उत्तर पूर्व राज्य र बंगलादेश समेत प्रभावित हुने आशंका कतिपयको छ।

यसले नदी तटीय क्षेत्र प्रभावित हुने अनुमान समेत गरिन्छ । तर चिनियाँ अधिकारीहरुले यसबाट कसैलाई कुनै प्रकारको हानि नहुने बताउने गरेका छन्। चीनले यारलुङ नदीमा बाँध बाँधेर बिजुली निकाल्ने समाचार पहिले पनि पटक–पटक सार्वजनिक हुने गरेको थियो।

तर निर्माणको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भइसकेको छैन। यसबाट कति घरधुरी प्रभावित हुन्छन्, जमिनको कति क्षेत्रफल ओगट्छ र पर्यावरणमा कति क्षति पुग्छ भन्ने पनि स्पष्ट छैन।