रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउन रास्वपाको माग

HTV Khabar १२ कार्तिक २०८१, सोमबार ०४:४३ मा प्रकाशित

काठमाडौं, प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणमा ९ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमवार बोल्दै रास्वापा सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो भनेकी हुन्।

‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध छ। थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोचिदिनु होला’, उनले भनिन्। उनले उक्त आग्रह गर्दा गृहमन्त्री लेखक पनि बैठकमा सहभागी थिए।

उनले बैठकमा सभापति लामिछाने चुनावबाट १२ लाख मतदाताले पत्याएको नेता भएको पनि जिकिर गरिन्। संसद्‍को चौथो ठूलो पार्टीको सभापति भएकाले पनि उनलाई बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरिन्। लामिछानेलाई लाखौँ मतदाताले विश्वास गरेकाले उनको पक्षमा भइरहेको प्रदर्शनलाई सरकारले स्वभाविक रुपमा लिनुपर्ने जिकिर पनि उनको थियो।

उनले रास्वपाको प्रदर्शनका क्रममा अदालतमा पुगेको मुद्दा प्रभावित पार्ने प्रयास भइरहेको भनेर गरेको टिप्पणीमा आपत्ति जनाइन्। ‘अहिले सभापतिमाथि लागेको कसुरबारे अनुसन्धान भइरहेको छ। मुद्दा अदालतसम्म पुगेकै छैन’, उनले भनिन्, ‘त्यसैले अदालत प्रभावित पार्न खोजिएको भन्नु गलत हो।’