नामिबिया विरुद्ध नेपालको ६ रनको रोमाञ्चक जित

HTV Khabar २७ पौष २०८०, शुक्रबार ११:०४ मा प्रकाशित
काठमाडौं, आईसीसी यू-१९ विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले दोस्रो अभ्यास खेलमा विहिवार राति नामिबियामाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ।


वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबया २९.५ ओभरमा १३५ रनमै अलआउट भयो। नामिबियाका कप्तान ए बसिङ-वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि जिताउन सकेनन्।


नेपालका गुलशन झा र  आकाश चन्दले ३-३ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो।नेपालका लागि दिपक डुम्रे ३२ तथा आकाश त्रिपाठीले २१ रन बनाए। नामिबियाका जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २ विकेट लिए।


यू१९ विश्वकपअघि नेपाल क्रिकेट संघ क्यानले व्यवस्था गरेको दुई अभ्यास खेलमा नेपालले दुवै खेल जित्यो। यसअघि नेपालले स्कटल्याण्डलाई हराएको थियो। अब आईसीसीको तालिकामा रहेको दुई वार्म अफ म्याच खेल्नेछ। नेपालले पहिलो वार्मअफ खेल १३ जनवरीमा स्कटल्यान्ड र दोस्रो वार्म अफ १६ जनवरीमा वेस्टइन्डिजसँग खेल्नेछ।


जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने यू१९ विश्वकपमा नेपाल, न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानसँगै समूह डी मा छ।