रिलायन्सको खेलकुद सप्ताह सुरु

HTV Khabar २५ माघ २०८०, बिहीबार ०५:३० मा प्रकाशित

काठमाडौं, रिलायन्स इन्टरनेसनल एकेडेमीको २४ औँ वार्षिक खेलकुद सप्ताह माघ २४ गते बुधवारदेखि सुरु भएको छ।


बूढानीलकण्ठ–१०, मिलनचोकस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीमा सुरु भएको खेलकुद सप्ताहको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले गरेका थिए।


उद्घाटनका क्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि भट्टराईले शैक्षिक गुणस्तरीयता मात्र नभई अतिरिक्त क्रियाकलाप समेतमा विशेष जोड दिनु पर्ने बताए। उनले बालबालिकाको सम्पूर्ण विकासका लागि खेल अनिवार्य रहेको कुरा बताउँदै सम्पूर्ण खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।


रिलायन्स इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल खेमलाल भुषालले विद्यालयले विषयगत शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिदै आएकाले वार्षिक क्यालेन्डर अनुसार खेलकुद सप्ताह आयोजना गरेको बताए। 

वार्षिक खेल सप्ताहको शुभकामना दिँदै रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्र जंग थापाले बालबालिकाको मानसिक विकास, शारीरिक विकास र शैक्षिक विकास सहज रुपमा बढ्नु पर्ने कुरा बताउँदै खेलकुदले यी तिनै कुराको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।


ड्रिल एवम् मार्चपास सहितको उद्घाटन समारोहमा कपन तेक्वान्दो डोजाङ्गले आफ्नो खेलकौशल प्रस्तुत गरी अतिथि एवम् विद्यार्थीलाई मनोरञ्जन प्रदान गरेको थियो।


खेलकुद सप्ताहमा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिनेछन्। करिब १५ भन्दा बढी खेलका विधाहरू समावेश गरिएको खेल सप्ताहमा सबै तहका विद्यार्थीहरूलाई तहगत रुपमा उपयुक्त खेलहरू खेलाइने कुरा विद्यालयका अतिरिक्त क्रियाकलाप कोअर्डिनेटर श्रीधर प्रसाद पौडेलले बताएका छन्।


फुटसल, बास्केटबल, भलिबल, कबड्डी, ब्याडमिन्टन, टेबल टेनिस, तान डोरी, चेस, १०० मिटर दौड, ४०० मिटर रिले दौड, सटपुट लगायतका प्रमुख खेलहरू समावेश गरिएको खेलकुद सप्ताहमा प्राथमिक तहका विद्यार्थीहरूका लागि पोर्टबल, टनेल बल, ओभरहेड बल, मार्बल एण्ड स्पोन, फिल इन द जार, ककफाइट विथ बेलुन लगायतका खेलहरू खेलाइने छ।