काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्याएका छन्।
पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर गरे।
प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘पार्टीमा कतिपय विषयहरू अनावश्यक ढङ्गले संवेदनशील बनाइएका छन् या बनेका छन्। तर, ती कुराहरू विधान संशोधनसँग सम्बन्धित छैनन्। त्यो विधान महाधिवेशनसँग सम्बन्धित विषय होइन। जुन विषय विधानसँग सम्बन्धित छैनन् ती प्रश्नहरू अन्यत्र कमिटीगत छलफलका विषय हुन्। त्यसबारेमा पार्टी कमिटीले छलफल गर्दै जानेछ ।’उनले विधान महाधिवेशन विधानमा मात्रै केन्द्रित हुने बताए।