काठमाडौं, वीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको शालिक निर्माण गरिएको छ।
धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा निर्माण गरिएको उक्त शालिकको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरे। ढलौटबाट निर्माण गरिएको र लागत १५ लाख रुपैयाँ रहेको निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य जीतकृष्ण श्रेष्ठले जानकारी दिए।
यो शालिकको २०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेका थिए। आफू प्रधानमन्त्री भएका बेला बीपी कोइरालाले २०१६ सालमा हालको वीपी राजमार्गको परिकल्पना गरेका थिए। तर त्यतिबेला निर्माण हुन सकेन।
नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा जापान सरकारको सहयोगमा पुनः सुरुवात गरेपछि उक्त सडक निर्मा णकार्यले सार्थकता पाएको हो। यो सडक २०७२ सालमा निर्माण पूरा भएको थियो।