साउनमा बैंकहरुले कमाए १० अर्ब २६ करोड रुपैयाँ खुद नाफा

HTV Khabar २ अशोज २०८१, बुधवार ०६:१४ मा प्रकाशित

काठमाडौं, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालका बैंकिङ संस्थाहरूले सवा १० रुपैयाँभन्दा बढी अर्ब बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सियल कम्पनीहरूले १० अर्ब २६ करोड ५० लाख रूपैयाँ नाफा गरेका हुन्।

तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा गएको साउनमा बैंक तथा वित्तीय संस्थाहरूको नाफामा वृद्धि भएको हो। अघिल्लो साउनमा बैंक तथा वित्तीय संस्थाहरूले ९ अर्ब ४९ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। जुन नाफा चालु आवको पहिलो महिनाको तुलनामा ७७ करोड ४६ लाख रूपैयाँले कम हो।

केन्द्रीय बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा गत आर्थिक वर्ष ०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ८.८१ प्रतिशतले खुद नाफामा गिरावट आएको थियो।

अंकका हिसाबले चालु आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय क्षेत्रको नाफामा सुधार आएको देखिएतापनि त्यसको समान प्रभाव भने सो क्षेत्रमा परेको देखिँदैन।

चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ करोड १ लाख रूपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन्।

त्यस्तै, विकास बैंकहरूले चालु आर्थिक वर्षको पहिलो महिनामा गत आवको सोही अवधिको तुलनामा जम्मा १३ करोड ६० लाख बढी नाफा आर्जन गरेका छन् भने फाइनान्स कम्पनीहरूले ४ करोड ५० लाख रूपैयाँ मात्रै बढी नाफा आर्जन गर्न सफल भएका छन्।

वाणिज्य बैंकहरूमध्ये गत आर्थिक वर्षको पहिलो महिनाको चालु आर्थिक वर्षको पहिलो महिनाको तुलनामा कृषि विकास बैंकले सबैभन्दा धेरै प्रतिशत नाफा आर्जन गर्न सफल भएको छ भने ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै नाफा आर्जन गर्न सफल भएको छ।

त्यस्तै वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा नेपाल बैंकको नाफा सबैभन्दा धेरै ३७.८५ प्रतिशतले घटेको छ भने माछापुच्छ्रे बैंकले सबैभन्दा कम नाफा आर्जन गरेको छ।