पोल्याण्ड पठाईदिन्छु भन्दै ३८ लाख ठगी, इन्द्रचोकबाट कर्माचार्य पक्राउ

HTV Khabar २३ कार्तिक २०८०, बिहीबार ०६:४९ मा प्रकाशित
काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोल्याण्ड पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी छन्।


कर्माचार्यले मदनराज मोक्तनसहित १७ जनालाई पोल्याण्ड जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने भन्दै ३८ लाख रुपियाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।


कर्माचार्यले पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५० रुपियाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन्।उनले पटक–पटक गरी सो रकम पीडितबाट उठाइ सम्पर्कविहिन रहेको अवस्थामा वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो।


प्रहरीले उनलाई काठमाडौंको इन्द्रचोकबाट मङ्गलवार दिउँसो १ बजे पक्रउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।