कुम्भ मेला भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

HTV Khabar १६ माघ २०८१, बुधवार ०८:४७ मा प्रकाशित

काठमाडौं,  भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ।

महाकुम्भका डीआईजी वैभव कृष्णले बुधवार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाकुम्भमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए।

जसमध्ये २५ जनाको सनाखत भइसकेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा ६० जना घाइते भएका छन्। १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ।

बुधवारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो।

तर, मंगलवार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो। मानिसहरूको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरू हटाएर सडक खुला गरेको थियो।