नागरिकको स्वास्थ्यप्रति सचेत मन्त्री पौडेलले कान्तिलाई हजार शैय्या पुर्‍याउन जापानी सहयोगका लागि गरे आग्रह

HTV Khabar १८ फाल्गुन २०८१, आइतबार ०७:१२ मा प्रकाशित

काठमाडौं,  नागरिकको स्वास्थ्यप्रति सचेत मन्त्री पौडेलले कान्ति बाल अस्पताललाई हजार शैय्या पुर्‍याउन जापानी सहयोगका लागि आग्रह गरेका छन्। 

कान्ति बाल अस्पताललाई एक हजार शैय्यामा विस्तार गर्ने कार्यमा सहयोगका लागि जापानी राजदूत तोरु मायदासँगको भेटका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आग्रह गरेका हुन्। मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भए पनि पर्याप्त पूर्वाधार नभएकाले विकास गर्ने सरकारको योजनामा साथ दिन जापान सरकारसँग आग्रह गरे।

भेटका क्रममा मन्त्री पौडेलले मन्त्रालयले घोषणा गरेको एक्सरे फिल्म प्रयोग निरुत्साहित गरेर डिजिटल वितरण योजनामा समेत जापान सरकारबाट साथ अपेक्षा गरेको बताएका थिए। त्यसक्रममा राजदूत मायदाले अस्पताललाई सघाउन सकारात्मक रहेको बताए। राजदूत मायदाले जापान र नेपालबीच लामो समयदेखि सहयोग सहकार्य रहेको भन्दै मन्त्रालयका अनुरोधका पक्षमा सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

मन्त्री पौडेलले कान्ति बाल अस्पतालको क्षमता विस्तार गरेर बढी क्षमतामा प्रभावकारी बाल उपचार उपलब्ध गराउने योजना सार्वजनिक गरेका थिए। त्यसलाई सफल पार्न विभिन्न क्षेत्रसँग सहकार्य र संवाद भैरहेको छ। यसैक्रममा जापान सरकारसँग सहकार्यको विकल्पबारे खोजी भएको मन्त्री पौडेलको सचिवालयले बताएको छ।