ग्लोबल आइएमइ बैंकको मंसिर २८ गते साधारणसभा, त्याग्यो मर्जरको एजेण्डा

HTV Khabar ५ मंगशिर २०८०, मङ्गलबार ०८:३४ मा प्रकाशित
काठमाडौं, ग्लोबल आइएमइ बैंकले मंसिर २८ गतेका लागि वार्षिक साधारणसभा डाकेको छ। बैंकले लाभांशसँगै अन्य आर्थिक प्रस्ताव पारित गर्न साधारणसभा डाकेको हो।

एक दशकदेखि निरन्तर रुपम मर्जर तथा प्राप्तिको एजेण्डा पनि सँगै लैजाने गरेको बैंकले यसपाली पहिलोपटक लाभांश प्रस्तावलाई मात्र अगाडि सारेको छ। चुक्ता पुँजीसहित व्यापार व्यवसायका हिसाबले देशकै ठूलो बैंकले मर्जरलाई चालु वर्षदेखि छाडेको हो।

केन्द्रीय बैंक र सरकारको नीति अनुसार हरेक वर्ष उसले मर्जरलाई प्राथमिकतामा राख्ने गरेको थियो।बैंकले १ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। यसबाहेक ८ प्रतिशत नगद लाभांश दिने भएको छ।


बैंकको साधारणसभाले सञ्चालक समिति पनि चयन गर्नेछ। संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन हुनेछ। बैंकको लाभांश पाउनका लागि मंसिर १२ गतेसम्म सेयरधनी भइसक्नु पर्ने हुन्छ। त्यसपछि सेयर किनेकाहरुले लाभांश पाउने छैनन्।