विषय : प्रेस विज्ञप्ति
मिति २०८० जेठ ९ र १० गते विभिन्न अनलाइनहरुमा नक्कली शरणार्थी प्रकरणमा आईजिपीकै भूमिका शंकास्पद भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ। समाचारका सन्दर्भमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख (हाल प्रहरी महानिरीक्षक) बसन्त बहादुर कुँवरले “ नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण " को मुद्दाका आरोपीतहरुसँग सम्पर्क रहेको , पूर्व गृहमन्त्रीलाई जोगाउन प्रयास गरेको लगायतका काम गरेको भन्दै समाचार सम्प्रेषण गरेको पाईयो।
कुनै आधार , तथ्य र प्रमाण विना अपराध अनुसन्धान जस्तो संवेदनशिल विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ। कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ।
नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाई आरोपीत भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद कुरा हो। नेपाल प्रहरी सदैव संविधान , कानून र संगठनको आफ्नै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन, निर्दोष नफसुन भन्नेमा सचेत र प्रतिबद्द छ। अपराधी जोसुकै होस उसलाई बचाउन हैन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार, तथ्य प्रमाण बिना नै महानिरीक्षकलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ।
नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने दायित्व भएको सञ्चारमाध्यमले अनुसन्धान जस्तो जटिल, संवेदनशिल र विशुद्ध प्राविधिक विषयका सीमितता, विशिष्टता एवं संवेदनशिलतालाई समेत मध्यनजर गरेर समाचार सम्प्रेषण गरिनुपर्ने हो। अत : कुनै तथ्य , प्रमाण बिना अनुमानका आधारमा कपोकल्पित र सतही रुपमा आएको उक्त भ्रामक र नियोजित समाचारले प्रहरी महानिरीक्षक र समग्र नेपाल प्रहरी संगठनको विश्सनियता र छवीमाथि गम्भिर आँच पुगेको हुँदा नेपाल प्रहरी उक्त समाचारको खण्डन गर्दछ।
नेपाल प्रहरीका जुनियरदेखि सिनियर प्रहरी अधिकृतहरूले आफ्नो जीवन र करिअरको समेत प्रवाह नगरी गरेको अनुसन्धानले यो प्रकरण बाहिर आएको र अझै पनि कैयौ व्यक्ति अनुसन्धानको दायरामा रहेको र कारबाहीको दायरामा ल्याउने काम बाँकी नै रहेको अवस्थामा अनुसन्धानमा रहेका प्रहरी अधिकृतहरूको मनोबलमा समेत असर पर्ने यस्ता तथ्यहीन, भ्रामक सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबै जिम्मेवार सञ्चार माध्यममा नेपाल प्रहरी आग्रह गर्दछ।
कुवेर कडायत
प्रहरी नायव महानिरीक्षक, केन्द्रीय प्रहरी प्रवक्ता