काठमाडौंका पूर्वमेयर सिंहको शोकमा आधा झण्डा झुकाउने काङ्ग्रेसको निर्णय

HTV Khabar २ पौष २०८१, मङ्गलबार ०६:३६ मा प्रकाशित

काठमाडौं,  नेपाली काङ्ग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।

आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गरेको हो। बैठकले पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।

त्यसैअनुसार पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ। पार्टीले आजदेखि १३ दिनसम्म देशका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ।

सिंहको ८८ वर्षको उमेरमा गएराति  चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको हो। उनको पार्थिव शरीरलाई बिहानसम्म निवासमै श्रद्धाञ्जलीका लागि राखिएको थियो। त्यसपछि उनको पार्थिव शरीर काङ्ग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिएको थियो। सानेपामा सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरू श्रद्धाञ्जली दिन पुगेका थिए।