कांग्रेस महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित

HTV Khabar १७ पौष २०८२, शुक्रबार ०८:०७ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरि नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा आउँदो वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यको समर्थनमा पारित भएको हो।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘पुसमा प्रस्ताव गरेको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसक्दा कार्यतालिका परिमार्जनसहित पारित गरेका छौं। बैठकले आउँदो वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ।’

यद्यपि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै १४औं महाधिवेशनका प्रतिनिधिलाई तयारीमा बस्न आग्रह गरे। यस्तै बैठकले पार्टी केन्द्रीय कार्यसमितिको म्याद आउँदो जेठ मसान्तसम्म थप गरेको छ।