काठमाडौं, नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन्।
सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए।
उनले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरे। उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रुकेमा हालेका टिप्पणी गरे।
उनले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन-कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए। प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताए।