राजश्वले खर्च धान्न सकस पर्‍यो : अर्थमन्त्री पौडेल

HTV Khabar २ चैत्र २०८१, आइतबार ०७:०८ मा प्रकाशित

काठमाडौं  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजश्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन्।

प्रतिनिधिसभाको आईतवारको बैठकमा बोल्ने क्रममा उनले राजश्वले खर्च धान्न धौधौ भएको कारण चालु आर्थिक वर्षको विनियोजनमा अनिवार्य दायित्वका शीर्षकमा समेत न्युन बजेट विनियोजन गरिएको बताए। ‘राजश्वले हाम्रो साधारण खर्च धौधौ भइरहेको अवस्था छ।

यस्तो अवस्थामा हामीले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किनका लागि विलम्व भइसकेको छ। हामीले विलम्व गर्नु हुँदैन,’ अर्थमन्त्री पौडेलले भने, ‘अब हामीले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किनुपर्ने अभिभारालाई गम्भिरतापूर्वक महसुस गर्नुपर्छ भन्ने मर्ममा उभिएर यो संशोधन विधेयक आएको कुरा म निवेदन गर्न चाहान्छु।’

यस्तो अवस्थामा बजेट निर्माणमा विलम्व गर्न नहुने उनको भनाइ थियो। बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किनुपर्ने अभिभारालाई गम्भिरतापूर्वक महसुस गर्नुपर्छ भन्ने मर्ममा उभिएर सरकारले संशोधन विधेयक अघि सारेको स्पष्ट पारे।

‘बजेट निर्माणको कुरा गरिरहँदा स्रोत व्यवस्थापनको विषय र विनियोजन कौसलको विषयलाई उच्च प्रतिफल प्राप्त हुनेगरी कसरी विनियोजन गर्ने ? यो विषयमा केन्द्रित हुन जरुरी छ भन्ने उद्देश्यमा केन्द्रित भएर यो संशोधन विधेयक आएको छ,’ उनले भने।