सर्लाहीको चुरेवर्ती क्षेत्रमा साँढे ३ बिघा अवैध गाँजा खेती नष्ट

HTV Khabar २८ मंगशिर २०८२, आइतबार ०५:४७ मा प्रकाशित

काठमाडौं, सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, पिपलदमारस्थित चुरेवर्ती क्षेत्रमा सुरक्षा निकायले ठुलो परिमाणमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बाँके खोलै खोला हुँदै सिन्धुली नजिकको दुर्गम चुरेवर्ती भूभागमा पुगेर करिब साँढे ३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती पूर्ण रूपमा नष्ट गरेको जनाएको छ।

उक्त क्षेत्रमा अन्य कृषि बाली उत्पादन राम्रो नहुने भएकाले स्थानीयले आय-आर्जनका लागि लामो समयदेखि लुकीछिपी गाँजा खेती गर्दै आएको बताइएको छ। यद्यपि, स्थानीयका लागि यो सहज आम्दानीको माध्यम भए पनि नेपालको प्रचलित कानुनले गाँजा खेतीलाई पूर्ण रूपमा अवैधानिक मानेकाले प्रहरीले निरन्तर निगरानीसहित कारबाही जारी राख्दै आएको छ।

सुरक्षा निकायले सो क्षेत्रका अन्य सम्भावित अवैध खेती तथा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निगरानी थप कडा गर्ने जनाएको छ।