अनलाइन टिभी पत्रकार संघको कोशी प्रदेश समिति गठन

HTV Khabar २ श्रावण २०८२, शुक्रबार ०६:५५ मा प्रकाशित

काठमाडौं,  अनलाइन टिभी पत्रकार संघ नेपाल, कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनले मोरङका किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरेको छ।

मोरङको उर्लाबारीमा भएको अधिवेशनले उपाध्यक्षमा झापाका खगेन्द्र घिमिरे, सचिवमा मोरङका सरोज बस्नेत, सहसचिवमा सुनसरीका विनोद राना मगर र कोषाध्यक्षमा मोरङकी सम्झना राईलाइ निर्वाचित गरेको हो। त्यस्तै, सदस्यहरुमा किशोर निरौला, विजय भट्टराई, अफ्ताप अली र निशान ढकाल चयन हुनु भएको छ। 

इन्टरनेटमा भिडियो पत्रकारिता गर्ने पत्रकारहरुको पहिलो र साझा संस्थाको रुपमा रहेको अनलाइन टिभी पत्रकार संघ युवा पत्रकार तथा पत्रकारिताका अध्यापक जीवन भण्डारीको नेतृत्वमा २०७६ सालमा काठमाडौमा स्थापना भएको हो।  

केन्द्रीय स्तरमा अनलाइन टिभी पत्रकारहरुको हकहित, अनलाइन टिभीहरुलाई व्यवस्थीत गराउने लगायतका विषयमा नेतृत्वदायी भूमिका खेल्दै आएको संघको कोशी प्रदेशमा पनि पहिलो कार्यसमिति गठन गरिएको हो।   
 
संघको दुई प्रदेशमा अधिवेशन भइसकेको र अन्य प्रदेशहरुको पनि केही दिनमै अधिवेशन सम्पन्न गर्नेगरी गृहकार्य भइरहेको संघका बरिष्ठ उपाध्यक्ष संजिव रेग्मीले जानकारी दिए। संघको जिल्ला शाखा भने १५ जिल्लामा गठन भइसकेको छ। अव हुने केन्द्रीय अधिवेशनपछि शाखा विस्तारलाई तिव्रता दिइने उहाँको भनाई छ।
 
अनलाइन टिभी पत्रकारितालाई व्यवस्थीत  जिम्मेवार बनाउन संघले नेपालमै पहिलो पटक अनलाइन टिभी स्वनियमन निर्देशिका जारी गरी लागु गरेको छ भने अनलाइन टिभीकर्मीहरुलाई विभिन्न विषयमा प्रशिक्षीत पनि गर्दै आएको छ।