दोस्रो यु–१४ जुगल अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि सुरु

HTV Khabar ८ भाद्र २०८३, सोमबार ०४:४१ मा प्रकाशित

काठमाडौं, दोस्रो यु–१४ जुगल अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८३ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। जुगल नवगुरुकुलको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न विद्यालयका कुल २४ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको उद्घाटन जुगल नवगुरुकुलका प्रिन्सिपल रुपक लामिछानेले गर्नुभएको हो। उद्घाटनसँगै प्रतियोगिताका खेलहरू सुरु भएका छन्।

प्रतियोगितामा सहभागी २४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा ३ टोली रहेका छन्। समूह चरणका खेलपछि प्रत्येक समूहबाट उत्कृष्ट दुई टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन्। त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल हुँदै प्रतियोगिताको फाइनल खेल सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन भाद्र ८ गते गरिएको हो भने भाद्र ९ गते समापन तथा फाइनल खेल हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा समूह ‘A’ मा जुगल ‘A’, फेयरिल्याण्ड इन्टरनेशनल स्कुल र सृष्टि ज्ञान स्कुल रहेका छन्। समूह ‘B’ मा नव ज्ञान भूमि, संग्रिला पब्लिक स्कुल र भक्ति सेकेन्डरी स्कुल छन्।

त्यस्तै, समूह ‘C’ मा बुढानीलकण्ठ पाठशाला, हिमालयन डब्लु. स्कुल र टाइमलाइन सेकेन्डरी स्कुल, समूह ‘D’ मा पेगासस स्कुल, छहरी स्कुल र नेशनल आइडल स्कुल सहभागी छन्।

समूह ‘E’ मा त्रिज्योति स्कुल, आकाश गंगा स्कुल र सत्य साई स्कुल, समूह ‘F’ मा न्यू मिलेनियम स्कुल, जीनियस वर्ल्ड स्कुल र नेरिक एकेडेमी रहेका छन्। समूह ‘G’ मा मनकामना स्कुल, बाल उद्धार सेकेन्डरी स्कुल र गोकर्णेश्वर स्कुल तथा समूह ‘H’ मा जुगल ‘B’, बोधि साधन स्कुल र V.S. स्कुल रहेका छन्।

यु–१४ उमेर समूहका विद्यार्थी खेलाडीहरूबीच प्रतिस्पर्धा गराइने यस प्रतियोगिताले विद्यालयस्तरमा फुटसल तथा खेलकुदको विकाससँगै बाल खेलाडीहरूको प्रतिभा पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको समापन भाद्र ९ गते हुने तथा सोही दिन फाइनल खेलपछि विजेता तथा उपविजेता टोलीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।