साताको २८ उडान गर्न सक्ने गरी स्वीट्जरल्याण्डसँग हवाई सम्झौता, हिमालयन र नेवानिले उडान गर्न सक्ने

HTV Khabar २४ माघ २०८०, बुधवार ०६:४६ मा प्रकाशित

काठमाडौं, नेपाल र स्वीट्जरल्याण्ड बीच सातामा २८ वटा उडान गर्ने पाउने गरी द्विपक्षिय हवाई सेवा सम्झौता भएको छ।


दुई देशको सरकारबीच भएको यो सम्झौतासँगै नेपालबाट हिमालय र नेपाल वायुसेवा निगम (नेवानि) ले सीधा उडान गर्न पाउने भएका छन् भने उताको पनि दुईवटै कम्पनीका वायुसेवा नेपाल आउन पाउने छन्।


दुई मुलुकबीच भएको यो हवाई सम्झौतापछि अब नेपाली वायुसेवाले चाहेकै बेला स्वीट्जरल्याण्डमा उडान गर्न पाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए। ‘नेपालमा हुने उडानमा भने उपलब्ध भएसम्म सातामा १४ वटा उडानसम्म काठमाडौं विमानस्थलमा गर्ने र बाँकी १४ वटा उडान उपत्यका बाहिरका विमानस्थलबाट गर्नुपर्ने छ’ उनले भने।


यो सम्झौतापछि अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि स्वीट्जरल्याण्डले हवाई उडान गर्न सक्ने छ। मंगलबार पर्यटन मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौता गरेको हो।


योसँगै नेपालले हवाई सेवा सम्झौता गरेको मुलुकको संख्या ४२ पुगेको छ। अझै थप मुलुकसँग हवाई सेवा सम्झौताको तयारी भइरहेको र केहीमा आवश्यक प्रक्रियासमेत अगाडि बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।