आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

HTV Khabar १९ वैशाख २०८२, शुक्रबार ०९:०४ मा प्रकाशित

काठमाडौं, सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि तय गरेको नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको दिउसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

राष्ट्रपतिको सम्वोधन हुने भएकोले सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन्।

आगामी १५ जेठका दिन आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन्।