काठमाडौं महानगर शिक्षा विभागद्वारा आयोजित १० दिने फेस्टिवल क्याम्प शुरु

सबिन पन्त 'पृथक' ४ कार्तिक २०८१, आइतबार ०३:४८ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिका शिक्षा विभागद्वारा आयोजित १० दिने फेस्टिवल क्याम्प १६ वटा विद्यालयमा आज एउटै समयमा शुरु भएको छ।

'महानगरको ईच्छा गरिखाने शिक्षा' भने मूल नारासहित अहिले काठमाडौं महानगरले स्वर्णिम र गौरवको योजना अन्तर्गत विद्यालय र विद्यार्थीहरुको जीवनस्तर उकास्ने खालको विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। 
काठमाडौं महानगर शहरी विकास योजना आयोगका सदस्य शैलेन्द्र झा को प्रत्यक्ष समन्वयमा संचालित 'शिक्षामा सीप' 'बूक फ्री फ्राईडे' लगायतका कार्यक्रमहरु सफलोन्मुख देखिएका छन्। यस सफलताका किरणसंगै हौसिएका झा ले अझै विद्यार्थीहरुको अन्तरङ्ग विकासका लागि थप कार्यक्रमहरु ल्याएका छन्। 

यी विभिन्न कार्यक्रमहरु मध्ये महानगर शिक्षा विभागले विद्यार्थीको शैक्षिक सुधारका लागि भनेर अहिले चाडपर्वको बिदामा समेत १० दिने फेस्टिवल क्याम्प कार्यक्रम गरेको छ। कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर यो कार्यक्रम शुरु गरिएको विद्यालय निरीक्षक विनिता महतले जानकारी दिएकी छन्।

१५० जना वा सो भन्दा बढी विद्यार्थी संख्या रहेकोमा त्यसै विद्यालयमा र उक्त संख्या भन्दा कम विद्यार्थी रहेको विद्यालयको हकमा भने दुई वा सो भन्दा बढी विद्यालयका विद्यार्थीलाई केन्द्र तोकेर कार्यक्रममा सहभागी गराईने पनि निरीक्षक महतले बताइन्।  

काठमाडौं महानगरपालिका भित्र रहेका १६ वटा विद्यालयमा आज आईतवार एकैपटक उद्घाटन गरेर कार्यक्रम शुरु गरिएको स्रोत शिक्षक प्रतिमा दुलालले एचटिभी खबरलाई बताइन्। दुलालकै संयोजनमा काठमाडौं महानगरपालिका वडा नं.६ स्थित महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा १० दिने फेस्टिवल क्याम्पको शुरु गरिएको छ। 

काठमाडौं महानगरपालिका वडा नं.६ का अध्यक्ष भुवन लामाको प्रमुख आतिथ्यता तथा महेन्द्र बौद्ध माविका प्राचार्य धर्मेन्द्र खकुरेलको सभापतित्वमा आयोजित भव्य कार्यक्रमका बीच बेलुनसंगै ब्यानरलाई आकाशमा उडाएर एकदमै फरक ढंगले उक्त क्याम्पको उद्घाटन गरिएको थियो। 
विद्यालय स्रोत शिक्षक तथा कार्यक्रमकि संयोजक प्रतिमा दुलालले अत्यन्तै शालीन र भद्र रूपमा सञ्चालन गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले चाडपर्वको बिदामा समेत विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुर्‍याउन लागिपरेका सबैलाई धन्यवाद दिदै आफ्नो भविष्य निर्माणका लागि हेलचक्राई नगरी रमाएर विविध ज्ञान् हासिल गर्न विद्यार्थीहरुलाई अनुरोध गरेका थिए। 

महेन्द्र बौद्ध माविका सह प्राचार्य हरिविक्रम कार्कीले कार्यक्रममा उक्त १० दिने फेस्टिवल क्याम्पको बारेमा प्रष्ट्याउँदै उदेश्य माथि प्रकाश पारेका थिए। 

विद्यालय निरीक्षक विनिता महत तथा नव जागृती माविका शिक्षक सबिन पन्त 'पृथक' ले विद्यार्थीहरुलाई क्याम्पमा कुनैपनि अप्ठ्यारो महसुस नगरी मनोरञ्जनपूर्वक अन्तरक्रिया गर्दै सिक्न अनुरोध गरेका थिए। 

कार्यक्रमका सभापति धर्मेन्द्र खकुरेलले आफ्नो ईच्छाअनुसार कसरी सिक्न सहज हुन्छ त्यसको पहिचान गरेर सिकाई उपलब्धि हासिल गर्न विद्यार्थीहरुलाई सुझाएका थिए। विद्यार्थीहरुले कार्यक्रममा नृत्य प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए।