संस्थागत विद्यालयका नाम नेपालीपन झल्कने गरी राख्न महानगरको निर्देशन

HTV Khabar १६ चैत्र २०८०, शुक्रबार १०:०७ मा प्रकाशित

काठमाडौं,  काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूको नाम नेपालीपन झल्कने गरी राख्न निर्देशन दिएको छ। महानगरले विहिवार एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिना भित्र आफ्नो नाम शिक्षा नियमावलीअनुसार राख्न निर्देशन दिएको हो।

‘अधिकांश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम भएको नदेखिएकाले नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेश गर्नहुन अनुरोध छ,’ महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।