प्रहरी चौकी जम्बुकाँधका इन्चार्ज ठकुरी विवादमा, तीन युवालाई कुटपिट गरेको आरोप

HTV Khabar २९ कार्तिक २०८२, शनिबार ०९:३५ मा प्रकाशित

काठमाडौं,  दैलेखमा प्रहरी चौकी जम्बुकाँधका इन्चार्ज असई धनसिंह ठकुरीमाथि तीन जनालाई कुटपिट गरेको आरोप लागेको छ।

जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ घर भएका प्रकाश थापा र वडा नम्बर ८ घर भएका लोकेश बुढा र वडा नम्बर ४ घर भएका सुशील शाहीलाई असई ठकुरीले कुटपिट गरेको आरोप लागेको हो। पीडित पक्षका अनुसार बिहीबार साँझ घरतर्फ जाँदै गरेका ती युवालाई मदिरा सेवन गरेको भन्दै नियन्त्रणमा लिएर चौकीमै कुटपिट गरिएको आरोप छ।


कुटपिटकै कारण घाइते भएका थापा र बुढाको उपचारका लागि स्थानीय र प्रहरीले समन्वय गरी स्वास्थ्य संस्थामा लगिएको थियो। स्थानीयले प्रहरी चौकी घेराउ गर्दै असई ठकुरीलाई तत्काल कारबाहीको माग गरेका छन्।

उनीहरूले प्रहरीले मानवअधिकार हनन गरेको, युवाहरूलाई विनाकारण कुटपिट गरेको र असई ठकुरीले मदिरा सेवन गरी यो घटना गराएको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डीएसपी) गणेश बरालले घटनाको अनुसन्धान भइरहेको छ। गलत देखिए चौकी इन्चार्जमाथि अनुसन्धान गरी कारबाही गरिने उनले बताए।