सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराउने भन्दै साढे २७ लाख ठगी, पौडेल पक्राउ

HTV Khabar २५ कार्तिक २०८१, आइतबार ०८:३३ मा प्रकाशित

काठमाडौं,  अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ निवासी २९ वर्षीय सुजन पौडेल रहेका छन्।

पौडेलले सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराउने आश्वासन दिएर ठगी गरेको प्रहरीको आरोप छ। पौडेलले ४० थान ल्यापटपको नाममा पीडितबाट २७ लाख ६० हजार रुपैयाँ असुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पौडेलसहितका केही व्यक्तिहरूले पीडितलाई सस्तोमा ल्यापटप उपलब्ध गराइदिने विश्वास दिलाएर रकम लिए पनि सामान नदिई ठगी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

उनलाई कार्तिक २३ गते काठमाडौंको ठमेल, नर्सिङचोक क्षेत्रबाट पक्राउ गरिएको थियो। पक्राउपछि सुजन पौडेललाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा पठाइएको छ।