क्यानडामा अध्ययन भिसा कटौती नेपाली विद्यार्थीलाई संकट नै संकट

HTV Khabar १३ माघ २०८०, शनिबार ०८:२० मा प्रकाशित

काठमाडौं,  क्यानडाले आगामी दुई वर्ष अध्ययन भिसामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा अस्थायी क्याप लगाउने घोषणा गरेसँगै त्यहाँ पढाइसँगै रोजगारी नहुँदा धेरै विद्यार्थी समस्यामा परेका छन्। विद्यार्थी शोषणमा परेका छन्। महिनौंसम्म काम नपाउने, कलेजले बीचमा शुल्क बढाउने, महँगो कोठाभाडा र खानासँग जुध्न धेरैलाई समस्या परेको छ।


क्यानडामा बढ्दो जनसंख्याका कारण आवास र स्वास्थ्य क्षेत्रमा दबाब पर्दै गएपछि दुई वर्षसम्म भर्ना संख्या घटाएको क्यानडाका अध्यागमन मन्त्री मार्क मिल्लरले बताए। क्यानडा सरकारले भिसामा कटौती गर्ने घोषणा गरेपछि क्यानडामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थी पनि प्रभावित हुनेछन्।
क्यानडाका आप्रवासनमन्त्री मार्क मिलरले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि दिइने स्टुडेन्ड भिसामा दुई वर्षका लागि अधिकतम् सीमा तोक्ने घोषणा गरेका हुन्। साथै उनले केही पोस्ट ग्रयाजुएट विद्यार्थीलाई कामगर्ने अनुमति अर्थात् वर्कपरमिट दिन पनि बन्द गरिने बताएका छन्।


बढ्दो आवास संकटलाई ध्यानमा राख्दै क्यानडा सरकारले यो निर्णय लिएको जनाएको छ। आप्रवासन, शरणार्थी र नागरिकता क्यानाडा (आईआरसीसी) का अनुसार उक्त निर्णय पछि ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन्। सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कम हुने अपेक्षा गरिएको छ। सन् २०२५ को लागि यो संख्या सन् २०२४ को स्थिति मूल्याङ्कन पछि तय गरिनेछ।


आईआरसीसी ले प्रत्येक प्रान्त र क्षेत्रका लागि क्यापहरू प्रस्तुत गर्दैछ। उक्त क्यापले हालको अध्ययन अनुमति धारकहरू वा अध्ययन अनुमति नवीकरणहरूलाई असर नगर्ने र स्नातकोत्तर र डक्टरल डिग्रीहरू समावेश नुहने जनाएको छ। विभागले २०२५ मा क्यापको पुनःमूल्याङ्कन गर्ने जनाएको छ। भिसा कटौतीअन्तर्गत सन् २०२४ मा अघिल्लो वर्ष अनुमति दिइएको संख्याको ३५ प्रतिशत मात्र अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिइने मन्त्रालयले जनाएको छ।


क्यानडाले सन् २०२३ मा करिब ९ लाख अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिएको थियो। अब यो वर्ष तीन लाख ६० हजारलाई मात्र दिइने जनाइएको छ। सन् २०२५ मा कति अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा दिने भन्ने निर्धारण यो वर्षको अन्त्यमा गरिने भएको छ।


डिप्लोमा वा अन्डर–ग्रयाजुएट अध्ययन गर्न चाहने विद्यार्थीका लागि मात्रै यो सीमा लागु हुनेछ। यसले स्टुडेन्ट भिसा पहिले नै प्राप्त गरिसकेका वा म्याद सकिएर नवीकरणको पर्खाइमा रहेको विद्यार्थीलाई यो व्यवस्थाले कुनै प्रभाव पार्ने छैन। यस्तै स्नातकोत्तर वा पीएचडी अध्ययनका लागि क्यानडा जान चाहनेलाई पनि यो नीतिले प्रभाव पार्ने छैन।


कोभिड महामारीपछि क्यानडामा नेपाली विद्यार्थीको संख्या बढेको छ। पछिल्लो दुई वर्षमा २० हजारभन्दा बढी नेपाली विद्यार्थी क्यानडा पुगेका छन्। क्यानडास्थित एनआरएनए र नेपाली अगुवाहरु भन्छन्– यहाँ नेपाली विद्यार्थीको बिजोग नै छ। कतिपय त माइनस २० डिग्री सेल्सियसको यस्तो चिसो र हिउँ परिरहेको मौसममा पुल र रुखमुनि बस्न बाध्य भएको पनि देखियो।


यस्तो अवस्थामा पनि नेपालीलाई नेपालीले नै ठगिरहेका छन्। वर्कपरमिट पाउन तुलनात्मक रुपमा सहज भएकाले क्यानडा अन्तर्राष्ट्रिय विद्यार्थीको रोजाइमा परेको हो। विद्यार्थीको चाप बढेसँगै घर जग्गाको मूल्यमा अचाक्ली वृद्धि हुनुका साथै अपार्टमेन्टको भाडादर पनि एक वर्षअघिको भन्दा ७.७ प्रतिशतले वृद्धि भएको छ। आईआरसीसीले पोस्ट ग्रेजुएशन वर्क परमिट को योग्यता मापदण्डमा पनि परिवर्तन घोषणा गरेको छ।


नयाँ नीतिअनुसार स्नातक र कलेज प्रोग्रामहरूमा अध्यनरत विद्यार्थीका डिपेन्डेन्ट ओपन वर्क पर्मिट अनुमतिको लागि आवेदन दिन योग्य हुने छैनन्। २०२४  जनवरी २२ देखि विद्यार्थी भिसाको लागि आईआरसीसीमा आवेदन दिने विद्यार्थीहरूले उनीहरूको योग्यता पुष्टि गर्ने प्रान्त वा क्षेत्रबाट आएको पत्र पनि समावेश गर्नुपर्छ। प्रान्त र क्षेत्रहरूले २०२४ मार्च ३१ सम्ममा विद्यार्थीहरूलाई यस्ता पत्र दिने प्रणाली व्यवस्थित गरिसक्नुपर्छ।


त्यस्तै २०२४ सेप्टेम्बर १ देखि पाठ्यक्रम इजाजतपत्र प्रबन्ध अन्तर्गत अध्ययन सुरु गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्नातक तहको अध्ययन सकेपछि स्नातकोत्तर वर्क पर्मिटको लागि योग्य हुने छैनन्। आगामी हप्ताहरूमा, ओपन वर्क पर्मिटहरू स्नातकोत्तर र डक्टरल अध्ययरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको जीवनसाथीहरूलाई मात्र उपलब्ध हुनेछ।


स्नातक र कलेज कार्यक्रमहरू सहित अध्ययनका अन्य स्तरहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका जीवनसाथीले अब यसका लागि योग्य हुने छैनन्। क्यानाडाले २०२२ मा आठ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गरेको थियो भने २०२३ मा ९ लाखभन्दा बढि भर्ना गरेको थियो।