सरकारले भूकम्पका घाइतेहरुको उपचार नि:शुल्क गर्ने

HTV Khabar १९ कार्तिक २०८०, आइतबार ११:३४ मा प्रकाशित
काठमाडौं, सरकारले जाजरकोट भूकम्पका घाइतेहरुको उपचार निशुल्क गर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले शुक्रवार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निस्शुल्क उपचार गराउने निर्णय गरेको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

उनले भूकम्पपछि तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौं लगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको बताए।

उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाको कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाको काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए।