रवि र बालेनबीच झण्डै ७ घण्टा छलफल, असिम शाह भन्छन् – कथाको सुखद् सुरुवात भएको छ

HTV Khabar ७ पौष २०८२, मङ्गलबार ०९:५८ मा प्रकाशित

काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा निवर्तमान सांसद असिम साहले पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भएको भेटवार्तालाई ‘सुखद’ र ‘आशाको शुरूआत’को संज्ञा दिएका छन्।

सोमवार राति करिब सात घण्टा चलेको छलफलपछि राति १ः३६ बजे सामाजिक सञ्जालमा पोस्ट गर्दै साहले लेखेका छन्, ‘रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’

साहकै पहलमा भेटको चाँजोपाँजो मिलाइएको बताइएको छ। भेट साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा भएको थियो। छलफलपछि रवि र बालेन एउटै गाडीमा बाहिरिएका थिए, जसलाई रास्वपाका नेताहरूले अर्थपूर्ण संकेतका रूपमा लिएका छन्।

यद्यपि, भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे दुवै पक्षले औपचारिक रूपमा केही खुलाएका छैनन्। बालेनको टिमले पनि भेटका विषयमा प्रतिक्रिया दिएको छैन।सहकारी ठगी प्रकरणमा जेल बसेर बिगो बराबरको रकम बुझाएपछि रिहा भएका रवि लामिछानेले पछिल्ला दिनमा राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्।

आईतवार उनले प्रधानमन्त्री सुशीला कार्की र सरकारका मन्त्रीहरूसँग बालुवाटारमा पार्टी नेतासहित भेट गरेका थिए। प्रधानमन्त्री कार्कीसँग पनि भेटवार्ता समेत भएको थियो।