मेयर बालेनले गरे प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न सिफारिस

HTV Khabar ५ पौष २०८१, शुक्रबार ०८:३० मा प्रकाशित

काठमाडौं,  काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गरेको छ। ​​

प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै गुरागाईंलाई महानगरपालिकाले कारबाहीका लागि सिफारिस गरेको हो। सहसचिव गुरागाईंले प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा पास गरेको महानगरले जनाएको छ।काठमाडौं महानगरका मेयर बालेन साहले प्रक्रिया पूरा नगरी नक्सा पास गर्ने कार्यकारी अधिकृतविरुद्ध एक्सन लिएका हुन्।

‘भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी स्वीकृत गरेको देखिन्छ,’ महानगरले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा थप छानबिन गरी, नियमविपरीत कार्य गर्ने जो कोहीलाई कानून बमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गरिन्छ।’​​