काठमाडौं, जेनजी आन्दोलनको क्रममा प्रहरी उपरीक्षक (एसपी) को बर्दी दुरुपयोग गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको बर्दी दुरुपयोग गर्ने व्यक्ति पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिको परिचय भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
केही दिनअघि पक्राउ परेका ती व्यक्तिविरुद्ध जिल्ला अदालतबाट मुद्दा दर्ता गरिएको र सोमवार अदालत खुलेसँगै म्याद थप गरिएको प्रहरीले जनाएको छ।
गत भदौ २४ गते साँझ आन्दोलनकारीले डोजरसहित जिल्ला प्रहरी कार्यालयमा आक्रमण गर्दै आगजनी गरेका थिए।
आगजनीका कारण हिरासतमा रहेका १२५ थुनुवा फरार भएका थिए, जसमा ६१ जना जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षबाट भागेका थिए। त्यही क्रममा पक्राउ परेका व्यक्तिले एसपी ओलियाको पोशाक निकालेर लगाएको खुलेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।