धनगढीबाट झण्डै ११ लाख मूल्यको अवैध सामानसहित दुईजना पक्राउ

HTV Khabar १७ असार २०८१, आइतबार ०९:३५ मा प्रकाशित

काठमाडौं, कैलालीमा झण्डै ११ लाख मूल्यको अवैध सामानसहित दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले १० लाख ७२ हजार मूल्यको अवैध सामानसहित सरस्वती विक र हरि बुढालाई पक्राउ गरेको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ३१ वर्षीय हरिले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२७९ नम्बरको म्याजिक गाडीमा अवैध सामान फेला परेको थियो। सो गाडीमा सवार धनगढी उपमहानगरपालिका–९ की ४० वर्षीया सरस्वती विक सवार थिइन्।

भारतबाट ल्याएको अवैध सामान, सेन्डो, लेडिज मोजा र जेन्स मोजा गरेर १० लाख ७२ हजार मूल्यको मालसामान नियन्त्रणमा लिएर त्रिनगर भन्सार कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले धनगढी उपमहानगरपालिका–१ नवदुर्गा मन्दिर नजिकबाट अवैध सामानसहित दुवै जनालाई नियन्त्रणमा लिएको थियो।