काठमाडौं, कोपा–अमेरिका फुटबलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको छ।
प्रतियोगिताको ४८औँ संस्करणमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई हराएको हो। कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
अव उपाधिको लागि कोम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ। कोलम्बिया समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। कोलम्बियाले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्यो।
कोलम्बियाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई २–१ गोलले हराएको थियो। कोलम्बियाले दोस्रो खेलमा कोस्टा रिकालाई ३–० गोलले पराजित गरेको थियो। तेस्रो खेलमा भने कोलम्बियाले बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १–१ गोलको बराबरीमा रोकेको थियो। समूहगत चरणमा कोलम्बियाले ६ गोल गरेको थियो भने केवल दुई गोल खाएको थियो।
कोलम्बियाले हालसम्म एकपटक मात्र कोपा–अमेरिकाको उपाधि उचाल्न सकेको छ। कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि जितेको थियो। त्यतिबेला घरेलु मैदानमा खेलिएको फाइनलमा कोलम्बियाले मेक्सिकोलाई १–० गोलले हराएको थियो।
लियोनल मेस्सीको कप्तानमा रहेको अर्जेन्टिना भने यसअघि नै फाइनलमा पुगिसकेको छ। अर्जेन्टिनाले बुधवार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी क्यानडालाई २–० गोलले हराएको थियो।