जापान जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले कर्जा दिने

HTV Khabar २९ असार २०८१, शुक्रबार ०४:१६ मा प्रकाशित

काठमाडौं, ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच जापान जाने विद्यार्थीलाई कर्जा दिने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको छ।

समझदारीपत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र जाल्सानका अध्यक्ष रमेश देवकोटाले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।

समझदारी अनुसार जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो। बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ।

बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरुलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेछ। जाल्सान मार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि बैंकले शैक्षिक कर्जा प्रवाह गर्नेछ।

यसैगरी, आइएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुको कलेज शुल्क, भिषा शुल्क लगायत भुक्तानीका लागि विद्यार्थीहरुलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ। जापान गएपछि विद्यार्थीहरुले जापानबाट आफ्नो देशमा आइएमईबाटै सहज रुपमा पैसा पठाउन सक्नेछन्।