मालपोतका करोडपति पियनले पाए सफाइ

HTV Khabar ९ पौष २०८०, आइतबार ०७:०८ मा प्रकाशित
काठमाडौं,  मालपोत कार्यालय चाबहिलका तत्कालिन कार्यालय सहयोगी राजेन्द्र बस्नेत अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन्।


उनीसँग आठ करोड ९८ लाख ५८ हजार अकुत सम्पत्ति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि मुद्दा दायर गरेको थियो। बिशेष अदालतले उनलाई सफाइ दिने फैसला आईतवार गरेको हो।


अख्तियारले उनीसँग स्रोत नखुलेको ११ लाख रुपैयाँसमेत बरामद गरी उनीविरुद्ध मुद्दा दायर गरेको थियो। बस्नेत मालपोत कार्यालयका ‘डन’का रुपमा चिनिन्छन्। उनले त्यहाँको करोडौं राजश्व समेत हिनामिना गरेको अर्को मुद्दा समेत दायर गरेको छ।


पद पियन भएपनि मालपोत कार्यालयमा उनले सबै सेटिङ मिलाउने काम गर्दथे। पैसाकै आडमा मालपोतका हाकिम समेत आफु अनुकुल सरुवा गर्दथे। उनै बस्नेतले अकुत सम्पत्तिको मुद्दामा सफाइ पाएपछि कर्मचारीले आश्चर्य व्यक्त गरेका छन्।


अख्तियारले उनकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उनीहरुले पनि सफाइ पाएका छन्।


भ्रष्टाचार गरेको पैसा राखेको आधारमा उनीहरुलाई पनि आयोगले जफतको प्रयोजनका लागि प्रतिवादी बनाएको थियो।