बढुवासँगै सिग्देल प्रधानसेनापतिको लाइनमा

HTV Khabar २३ मंगशिर २०८०, शनिबार ०८:५१ मा प्रकाशित
काठमाडौं, सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ। मंसिर १७ गते सिग्देललाई रथीमा बढुवा गर्न जंगी अड्डाले सिफारिस गरेको थियो। जंगी अड्डाले उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशित गरेको थियो।मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथी पदमा बढुवा, नियुक्तिको निर्णय गरेको हो।  


बढुवासँगै सिग्देल प्रधानसेनापति लाइन बसेका छन्। उनी प्रभुराम शर्मापछि प्रधानसेनापति हुने निश्चित भएको छ। बढुवा गरेका रथी अशोक राज सिग्देल सामान्य अवस्थामा नियमित प्रक्रियाद्वारा २०८१ भदौ २४ गतेबाट औपचारिक रूपमा नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्ने निश्चित छ।


अशोक राज सिग्देलले २०८१ साउन २४ गते कायममुकायम प्रधानसेनापति बन्दै २०८१ भदौ २४ गतेबाट औपचारिक रूपमा नेपाली सेनाको ४५औं प्रधानसेनापतिको कार्यभार सम्हाल्ने  छन्।


हाल रथीको दुबै पद रिक्त रहेको अवस्था थियो। एक पदपूर्ति भएकाले अर्काे रिक्त रथी पदमा हाल यूएन शान्ति सेनाको फोर्स कमाण्डर रहेका उपरथी निर्मल कुमार थापाको बढुवा हुने छ। यसअघि बढुवा सिफारिसमा परेका उपरथी ताराध्वज पाण्डे उमेर विवादमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए।