काठमाडौं, दाङको राप्ती गाउँपालिका गोलीनालामा विहीवार राती एक युवकको हत्यामा संलग्न एक युवतीसहित ३ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी नेतृत्वको प्रहरी टोलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई पक्राउ गरेको हो।
दाङको बंगलाचुली निवासी वर्ष २० का संदिप वली, राप्ती गाउँपालिकाका वर्ष १८ को निश्चल चौधरी र राप्ती गाउँपालिकाकै वर्ष १८ की आकृति बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
प्रहरीले घटना भएको थाहा पाए लगत्तै प्रहरी निरीक्षक ऐरीको टोलीले रातभर नै घटनास्थल सहितका ठाउँमा अनुसन्धान गरि बिहान ४ बजे मात्र पक्राउ परेका तीनको प्रमाणसहित पुष्टि गरेको प्रहरीले जनाएको छ ।
विहीवार राती राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ वर्षीय स्मित प्रधानलाई हत्या गरी वडा नं ४ गोपीनालाको दोलाईखोला नजिक नालामा फालेको अवस्थामा शव फेला परेको थियो। उक्त घटनाबारे प्रहरीलाई विहीवार दिउँसो करिब १२ बजे खबर पुगेको थियो।
प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। मृतक प्रधानको शरीरमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको हुन सक्ने बताइएको छ। यस्तै एक किशोर घाइते अवस्थामा भेटिएका थिए।
मृतक प्रधान सँगै गएका सोही ठाउँ निवासी वर्ष १६ का आयुषमान थापा घाइते भएको र उनको राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार चलिरहेको छ। थापा खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
आयुषमान थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक मेसेन्जर बाट भेट्न आउँ भनी बोलाउँदा निजहरू विहीवार राती ८ बजे घरबाट ती युवती भेट्न निस्किएको बताइएको छ।