काठमाडौं, त्रिभुवन विश्वविद्यालय लायन्स रक्त सञ्चार तथा अनुसन्धान केन्द्रले रक्त सञ्चार सेवा सञ्चालन गर्न अनुमति पाएको छ।
केन्द्रले एकल रक्त सञ्चार सेवा सञ्चालनका लागि अनुमति प्राप्त गर्न मिति २०८०/०९/०१ मा दिएको निवेदन उपर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८१/०४/१७ गतेको सचिवस्तर निर्णयबाट जनस्वास्थ्य सेवा ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७ अनुसार मन्त्रालयले सञ्चालन अनुमति प्रदान गरेको लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले एचटिभी खबरलाई बताएका छन्।
लायन्स क्लबले किर्तीपुर नगरपालिका वडा नं.-१० काठमाडौं त्रिभुवन विश्वविद्यालयको क्षेत्रमा ए-समूहको रक्त सञ्चार सेवा सञ्चालन गर्न आवश्यक सम्पूर्ण पूर्वाधार तयार भएको बुर्लाकोटीले बताए।
नेपालमै अत्यधिक रक्तदान गर्ने पहिलो संस्था लायन्स क्लबले नेपाल रेडक्रस सर्कललाई र अन्य निजी स्तरमा संचालित अस्पताललाई रक्तदान कार्यक्रम आयोजना गरेर यसअघि सेवा प्रदान गर्दै आएको थियो।
अबभने नेपालमा नै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको रक्त सञ्चार सेवा सञ्चालन गर्न लायन्स क्लबले अनुमति पाएसंगै जीवनमरणको स्थितिमा रहेका र रगतको समस्या भोग्दै आएका नेपालीहरुलाई सहज हुने रक्त सञ्चार सेवा केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीले प्रष्ट्याएका छन्।
रक्त सञ्चार सेवा केन्द्र स्थापना गर्न सम्पूर्ण नेपाली लायन सदस्यहरुको महत्त्वपूर्ण योगदान रहेको छ। ईच्छुक लायन सदस्यले रु.२५०००/- प्रदान गरेर रक्त सञ्चार सेवा केन्द्र स्थापना गरेका हुन्।
