काठमाडौं, जेनजी आन्दोलनका क्रममा लुटपाटमा परेका दुई थान पेस्तोल र २८ राउन्ड गोलीसहित चार युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले मंगलवार गौरीगंगा नगरपालिका–६, चौमालाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा गौरीगंगा–१ का १९ वर्षीय समीर खड्का, १९ वर्षीय आभाष चन्द, गौरीगंगा–३ का २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य रहेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार उनीहरूको साथबाट टाईप–५४ र रिभल्भर गरी दुई थान पेस्तोल र २८ राउन्ड गोली बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले जेनजी आन्दोलनकै दौरान काठमाडौंस्थित ट्राफिक महाशाखा बग्गीखानाबाट ती हतियार लुटेको स्वीकारोक्ति दिएका छन्। प्रहरीले पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि अपराध महाशाखा काठमाडौं पठाउने तयारी गरेको जनाएको छ।