कमेडियन अपूर्व क्षितिज दोषी ठहर, १० हजार जरिवाना

HTV Khabar १३ मंगशिर २०८०, बुधवार ११:२८ मा प्रकाशित
काठमाडौं, जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक शान्तिविरुद्धको अभियोगमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले एक जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको मुद्दामा स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिजलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको हो।


काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्तिविरुद्ध र जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी, सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसुरमा अपूर्व क्षितिलाई दोषी ठहर गर्दै जरिवाना गरेको हो। पृथविन्दु महर्जनलगायतले दिएको उजुरीमा क्षितिजलाई मुलुकी अपराध संहिताको दफा १६५ बमोजिम १० हजार जरिवाना गरिएको हो।


स्ट्यान्ड अप कमेडी गर्ने क्रममा नेवारी लवज र जातीलाई व्यंग्य गरिएको भन्दै अपूर्व क्षितिजविरुद्ध उजुरी परेको थियो। त्यसपछि उनलाई प्रहरीले २०७९ भदौ दोस्रो साता पक्राउ परेका थिए। उनलाई त्यतिबेला २ लाख धरौटीमा छोडिएको थियो।


जिल्ला अदालतबाट दोषी ठहर भएर जरिवाना गरिएपछि अपूर्व क्षितिज सिंहले यो मुद्दाले वाक स्वतन्त्रतामा प्रभाव पर्ने बताए। उनले अदालतबाट पूर्णपाठ आएपछि पुनरावेदनका लागि उच्च अदालत जाने बताए। यो नजीरले चलचित्रकर्मी, लेखक, कलाकार, गायकलाई समस्या हुने उनको भनाइ छ।