काठमाडौं, सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रात्रीकालीन बजारसहितको उद्यान (पार्क) बन्ने भएको छ।
धनगढी उपमहानरपालिका–१ मा रहेको भीम उद्यानलाई रात्रीकालीन बजारसहित स्तरीय र आधुनिक बनाउन डीपीआर तयार गरिएको जनाएको छ।
नगर प्रमुख गोपाल हमालले कम्तीमा पाँच सय जना युवालाई प्रत्यक्ष आयआर्जनमा जोड्ने गरि रात्रीकालीन बजारसहितको उद्यान सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेको जानकारी दिए।
उनकाअनुसार संघीय सहरी विकास मन्त्रालय र नगर विकास कोषको ऋण सहयोगमा करीब ३६ करोड रुपैयाँको लागतमा उद्यान निर्माण गर्ने प्रस्ताव गरिएको छ।
दुई वर्षभित्र निर्माण सम्पन्न गरेर धनगढी उपमहानगरपालिकाले नगर विकास कोषलाई १७ वर्षमा ऋण चुक्ता गर्ने प्रस्ताव समेत रहेको हमालले बताए।
उद्यानभित्र जेष्ठ नागरिक पार्क, बालबालिक पार्क, युवा पार्क, म्युजिकल फाउन्टेन र लेजर सो हल बनाइनेछ।
लेजर सो हलमा सुदूरपश्चिमका सामाजिक धार्मिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, स्थानीय भेषभूषा र संस्कृति चिनाउने भिडियो र तस्वीरहरू प्रत्येक साँझ प्रस्तुत गर्ने योजना समेत बनाइएको उपमहानगरपालिकाले जनाएको छ।