काठमाडौं, नेपाली कांग्रेसले सहकारी ठगीविरूद्ध काठमाडौंको प्रदर्शनीमार्गमा आज प्रदर्शन गरेको छ। देशका विभिन्न सहकारीको बचत ठगी भएकोले बचतकर्तालाई न्याय दिलाउन भन्दै कांग्रेसले प्रदर्शन गरेको हो।
कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालेका थिए। कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ।
संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेकोले संसदीय छानबिन समिति गठनका लागि सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो। प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका शीर्ष नेताहरुको पनि सहभागीता रहेको थियो।